सामग्रीमा जानुहोस्

श्राद्ध

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
श्राद्ध
प्रकारहिन्दु

हिन्दु संस्कार अनुसार दिवङ्गत पितृहरूको स्मरणमा श्रद्धा र सम्मान अर्पण गरिने कार्यलाई श्राद्ध भनिन्छ। कात्यायन स्मृतिमा श्राद्धलाई पितृयज्ञ भनिएको छ। भविष्य पुराणका अनुसार श्रद्धाले विधिपूर्वक पितृले पाउन् भनेर ब्राह्मणलाई दान दिनुलाई श्राद्ध भनिएको छ। हेमाद्रीको श्राद्धखण्डको भनाईअनुसार ब्राह्मणभोजन,, पिण्डदान गराउनु श्राद्ध हो।

शाब्दिक अर्थ

श्राद्ध शब्दलाई विभिन्न तरिकाबाट अर्थ्याए पनि मूलतः यसले इङ्गित गर्न खोजेको अर्थ एउटै हो- पितृहरूलाई श्रद्धापूर्वक सम्झनु र उनीहरूप्रति कृतज्ञता प्रकट गर्नु । जीवित हुँदा मातापिताप्रति सेवा गर्नु मानव कर्तव्य मानिएको छ । यसैगरी उनीहरूको मृत्यु हुँदा शरीरलाई दाहसंस्कार आदि क्रिया गर्नु एवं अज्ञातस्थलमा पुगेका पितृहरूको सम्झना गर्दै श्राद्धादि कार्य गर्नु पनि उसको कर्तव्य मानिएको छ। वेदादि आफ्ना शाखाका शास्त्र हरूले बताएका विधि विधानअनुसार आफ्ना पितृहरूका निमित्त गरिने पैतृक कर्म नै श्राद्ध हो |

श्रद्धया क्रियते इति श्राद्धः |अतःआफ्ना पुर्खाद्वारा ग्रहण गरिएको वेदशाखा सम्बद्ध गृह्यसूत्र निर्देशित भएर गरिने कार्यलाई नै श्राद्ध भनिएको हो |पितृकार्यं द्विजातीनां देवकार्याद्विशिष्यते- पितृकार्य अन्य देवकार्यको तुलनामा अतिश्रद्धापूर्वक गर्नुपर्ने विशेष कर्म भएकोले पनि भौतिक तथा पारलौकिक सफलताका लागि पितृहरूको उपासना गकार्यलाई श्राद्ध भनिएको हो। यसकारण दुधआदि पदार्थहरू श्रद्धापूर्वक चढाउँदै गरिने कार्य नैं श्राद्ध हो। यसैगरी पितृहरूको स्मरण गर्दै ब्राह्मणहरूलाई दान गर्नु वा भोजन गराउनु पनि श्राद्ध नैं हो। आध्यात्मिक व्यक्तिहरू संसारको पहिलो ग्रन्थ ऋग्वेद नै मान्दछन्। ऋग्वेदका अनुसार पूर्वजहरूलाई श्रद्धापूर्वक सम्झन अर्थात् श्राद्ध गर्न जुनसुकै धर्म सम्प्रदायलाई रोकावट छैन। विष्णु पुराण, नृसिंह पुराण, गरुड पुराण आदिले पनि ऋग्वेदको अनुसरण गरेको पाइन्छ। श्राद्धको निमित्त इच्छा, भक्ति, श्रद्धा, ताजा संस्मरण अनिवार्य मानिएको छ। पिता माताबाट नै आफ्नो शरीर पैदा भएको र लालनपालन, शिक्षादीक्षासमेत प्राप्त हुने हुँदा उनीहरूका निमित्त श्रद्धा सुमन चढाउने निर्देशन हिन्दु धर्मले दिएको छ।अथर्ववेदमा पृथ्वी, अन्तरिक्ष र दिव -स्वर्ग) यी तिनै लोकमा पितृको निवास हुन्छ भनेर बताइएको छ। श्राद्धको फलबाट दिवलोकमा पितृहरू दीर्घकालसम्म रहन्छन् र सुख पाउँछन् भन्ने कुरा वेदमा प्रष्ट्याइएको छ।

श्राद्धका प्रकार

शास्त्रमा विवाह व्रतबन्ध, आशौच आदि विभिन्न अवसरमा पनि श्राद्ध गर्नु पर्ने उल्लेख छ। शास्त्रमा श्राद्धका अन्य धेरै भेद बताइए पनि एकोद्दिष्ट श्राद्ध, एकपार्वण श्राद्ध, पार्वण श्राद्ध/सोह्र श्राद्ध, आभ्युदयिक श्राद्धतीर्थ श्राद्ध सामान्यतया व्यवहारमा परिरहने श्राद्ध हुन्। एउटा मात्र पितृको उद्देश्य लिएर गरिने श्राद्धलाई एकोद्दिष्ट भनिन्छ। धेरै पितृको सम्झनामा गरिनेलाई पार्वण वा महालय श्राद्ध भनिन्छ। विवाह व्रतबन्ध आदि माङ्गलिक कार्य गर्नुअघि गरिने श्राद्धलाई आभ्युदयिक श्राद्ध/वृद्धि श्राद्ध भनिन्छ। यसैगरी कुनै पनि पवित्र तीर्थस्थलमा गएर गरिने श्राद्ध तीर्थश्राद्ध हो। यस बाहेक आफ्नो इच्छा पूरा गर्न गरिनेलाई काम्य श्राद्ध, शरीर स्वस्थ्य राख्न गरिनेलाई पुष्टि श्राद्ध, देशान्तरमा जाँदा सफल हुन घ्यूले गरिनेलाई यात्रा श्राद्ध भनिन्छ। जुनसुकै कठिनाई वा आपत-विपत पर्दा पनि वा अन्य धर्मकर्म गर्न नसकिए पनि श्राद्ध गर्न छोड्नु नहुने कुराको उल्लेख श्रुति-स्मृति-पुराणमा पाइन्छ।मा.वा.शु.य.वेदशाखासँग सम्बद्ध हुने वैदिक सनातन वर्णाश्रमधर्म मान्नेहरू यस शाखाका गृह्यसूत्रानुगामी कात्यायन श्राद्धकल्पसूत्र अनुसार एकोद्दिष्ट, पार्वण, सपिण्डी र आभ्युदयिक नामका श्राद्धहरू गर्दछन् |

एकोद्दिष्ट श्राद्ध

पितृको मृत्यु भएको तिथिमा गरिने श्राद्धलाई एकोद्दिष्ट श्राद्ध। यस श्राद्धमा जसको तिथि हो उसलाई मात्र आधार वनाएर श्राद्ध गरिन्छ, उसलाई मात्र पिण्ड दिइन्छ । यस विपरित पार्वण श्राद्धमा आफ्ना पितातर्फका तीनपुस्ता र मावलीतर्फका तीनपुस्तालाई पिण्ड दिइन्छ। विभिन्न जाति सम्प्रदायमा तीन पुस्ताभित्रका जेष्ठ मध्यम, कनिष्ठ पितामह, काका, मामा लगायतलाई पिण्ड दिइने गरेको पाइन्छ । पार्वण श्राद्धमा तर्पण प्राप्त गर्ने जति पितृहरू सबैलाई पिण्ड दिने चलन पनि छ ।कात्यायनश्राद्धकल्पसूत्रमा श्राद्धका दिन सँधै गरिने ब्रह्मयज्ञ र तदंग तर्पण गर्न निषेध गरिएको छ| त्यस दिन तर्पण गर्दा त्यो दिनको श्राद्धआशुर हुने र त्यस दिन पितृका नाममा दिएको पानी रगत समान हुने भनी वर्णन गरिएको छ |यस विचारलाई पुष्टि गर्ने निर्णयसिन्धु पृ.३४६मायस्तो वचन छ- पित्रोःक्षयाहेसम्प्राप्तेयःकुर्यान्नित्य तर्पणम्| आसुरं तद्भवेच्छ्राद्धंतत्तोयं रुधिरं भवेत्|| सर्वदा तर्पणं कुर्याद् ब्रह्मयज्ञपुरस्सरम्| क्षयाहे नैवकर्तव्यंलकृतंचेन्निष्फलं भवेत्||

श्राद्धका अङ्ग

कात्यायनश्राद्धकल्पसूत्रमा श्राद्धको प्रमुख अंगका रुपमा ब्राह्मणपूजन तथा भोजन,पिण्डदान र दक्षिणादान हुन्, तर यति मात्र हुन् भन्ने होइन। अन्य अङ्ग पनि त्यति नै महत्त्वपूर्ण छन्।ब्राह्मणभोजन भैरहुन्जेल कर्ताले वा प्रतिनिधि ब्राह्मणले भोजन गर्ने ब्राह्मणको अगाडि पितृसूक्त पाठ गर्ने नियम छ। यसो गर्न वा गराउन नसक्नेले आफ्ना गायत्रीमन्त्र जप्ने विधान छ|हिन्दू धर्म संस्कृति समयको दृष्टिले अति प्राचीन, स्वभावको दृष्टिकोणले अति उदार र विस्तारको दृष्टिकोणले अति फैलिएको स्पष्ट छ। यसमा भूखण्डका बहुविधासँग मात्र नभई स्वर्गका देवता, पातालका नागजाति, पितृलोकका पितृहरूसँग भावनात्मक सम्बन्ध जोडिएको छ। त्यसैले नित्यब्रह्मयज्ञमा ब्रह्मादिविश्वेदेव,सनकादि दिव्यमनुष्य,कव्वाडनलादिदिव्यपितृगण र आफ्ना दिवंगत पितृको निमित्त तर्पण दिंदा आफन्त बन्धुबान्धव मात्र नभई आब्रह्मस्तम्भपर्यन्त अर्थात् ब्रह्मादेखि किरा पतङ्गसम्मको तृप्तिको कामना गरिएको हुन्छ, जस्तै -

आब्रह्मस्तम्बपर्यन्तं देवर्षिपितृमानवाः,
तृप्यन्तु पितरः सर्वे मातृमातामहादयः ।
पितृवंशे मृता ये च मातृवंशे तथैव च,
गुरुश्वशुरबन्धूनां ये चान्ये बान्धवाः मृताः ।
ते तृप्तिमखिला यान्तु ये चास्मत्ता ये काङ्क्षिणः,
ये बान्धवाsबान्धवा वा येsन्यजन्मनि बान्धवाः ।
ते सर्वे तृप्तिमायान्तु मद्दत्तेनाम्बुनाखिलाः
देवासुरास्तथा यक्षा नागाः गन्धर्वराक्षसाः ।
पिशाचाः गुह्यकाः सिद्धाः कूष्माण्डास्तरवः खगाः,
जलेचराभूमिचरा वाय्वाहारश्चजन्तवः ।
ते तृप्तिमखिला यान्तु मद्दत्तेनाम्बुनाखिलाः ,
नरकेषु समस्तेषु यातनासु च ये स्थिताः
तेषामाप्यायनायैतद्दीयते सलिलं मया ।
अतीतकुलकोटीनाम् सप्तद्वीपनिवासिनाम्,
आब्रह्मभुवनाँल्लोकानिदमस्तु तिलोदकम् ।

सामान्य अर्थमा पिण्ड भनेको डल्लो हो तर श्राद्धमा यसले विशेष महत्व राख्छ। गाईको दूधमा पकाएको खीर वा गाईको दूधमा मुछिएको जौको पिठोको डल्लोलाई पिण्ड भनिन्छ। त्यही गोलाकार वस्तुमा तुलसीपत्र कालो तिल मिसाई श्राद्धविधान अनुसार कर्ताले चोरी औंलामा कुशको पवित्र लगाई पितृको नाम, गोत्र, प्रवर स्वरूप उल्लेख गरी पिण्ड वेदीमा अर्पण गरिन्छ। श्राद्धको होमलाई "अग्नौकरण" भनिन्छ।

श्राद्धको निमित्त शुद्ध वस्त्र र शुद्धभोजन अनिवार्य छ। श्राद्ध गर्ने अघिल्लो दिन श्राद्धकर्ताले केश मुण्डन गरी एक छाक मात्र खानुपर्दछ। यो कर्मलाई एकभक्त भनिन्छ। केशमुण्डन गर्न समय, फुर्सद, अवस्था नमिलेमा कुशपानीले टाउको नुहाई पवित्र हुने चलन छ। शास्त्रमा श्राद्ध गर्ने व्यक्ति सदाचारी हुनुपर्ने बताइएको छ। यसैगरी श्राद्ध गराउने अर्थात् श्राद्धमा प्रयोग हुने ब्राह्मण पनि सदाचारी हुनुपर्दछ। श्राद्ध गर्नेको शरीर, श्राद्ध गर्ने धन, श्राद्ध गर्नेकी पत्नी, श्राद्धगर्ने भूमि, श्राद्ध गर्नेको मन, श्राद्धमा प्रयोग हुने मन्त्र, र श्राद्धमा भोजन गर्ने वा पढ्ने ब्राह्मण यति सात कुरा शुद्ध हुनै पर्दछ भन्ने शास्त्रको भनाइ छ। जुनसुकै श्राद्ध गर्दा पनि पौराणिक मन्त्रलाई भन्दा वैदिक मन्त्रको प्रयोगलाई प्राथमिकता दिइन्छ। देवताहरूभन्दा पितृ रिझाउन कठिन हुने हुनाले श्राद्ध गर्दा मन्त्रहरू शुद्ध रूपमा पढ्नुपर्ने कुरामा जोड दिइएको छ ।

श्राद्ध गुठी

कतिले श्राद्ध चलाउन गुठी नै राखिदिने गरेका छन्। तत्कालीन राजा रणबहादुर शाहको श्राद्ध सप्तमी गुठीले गर्दछ। तत्कालीन राणा प्रधानमन्त्री जङ्गबहादुर राणाले पनि आफ्नो श्राद्धको निमित्त गुठी छुट्याएका थिए र त्यसै गुठीले आज पनि उनको श्राद्ध गर्ने गर्दछ। मल्ल राजाहरूको पनि श्राद्ध चलिरहेकै छ भन्ने सुनिन्छ। पशुपतिनाथको मन्दिरमा चाँदीको ढोका स्थापना गर्ने कुलानन्द झाको श्राद्ध पनि भएकै छ। सामान्य जनको लागि पनि तीर्थहरूमा श्राद्ध गुठी राख्ने प्रचलन छ तर त्यसको अनुगमन एक पुस्ता पछि नहुने भएकोले त्यसको निरन्तरता हुन्छ कि हुदैन भन्न कठिन छ ।

सन्दर्भ सामग्रीहरू

यो पनि हेर्नुस

बाह्य लिङ्कहरू